हामी किन मार्क्सवादी हुनुपर्दछ ?

(पुँजीवाद आफ्नो इतिहासमै सबैभन्दा गहिरो सङ्कटमा फसेको छ । यो आर्थिक, सामाजिक र राजनीतिक सङ्कट विश्वभर राजनीतिक उतारचढाव तथा बढ्दो वर्गसङ्घर्षमा स्वतःस्फूर्त रुपले अभिव्यक्त भइरहेको छ । शासक वर्गले मार्क्सवादको चिहान खन्ने प्रयत्न गरेको बेला वास्तवमा यो आज जत्तिको प्रासङ्गिक कहिल्यै थिएन । यो अद्यावधिक गरिएको लेखमा एलन उडले मार्क्सवादको सार र वर्तमान समयमा यसको भूमिकाको बारेमा व्याख्या गरेका छन् ।)

सन् १९९२ मा फ्रान्सिस फुकुयामाले ‘द इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ नामक पुस्तक प्रकाशित गरे । जुन तत्कालै ‘बेस्ट सेलर’ बन्यो । त्यसमा उनले निकै ठूलो स्वरमा समाजवाद, साम्यवाद र मार्क्सवादको अन्त्यका साथै बजार अर्थतन्त्र र बुर्जुवा प्रजातन्त्रको निर्णायक विजय भएको दाबी गरेका थिए । सोभियत सङ्घको विघटनको अर्थ त्यसपछि एउटा मात्र व्यवस्था सम्भव छ, जुन पुँजीवादी बजार अर्थतन्त्र हो र यस अर्थमा इतिहासको अन्त्य भएको छ भन्ने उनको तर्क थियो ।

यो विचारलाई बजार अर्थतन्त्रको प्रस्ट सफलताले सुनिश्चित गरेजस्तो पनि देखियो । जसलाई लगत्तैका वर्षहरुमा भएको उच्चतम नाफा र लगभग बाधारहित आर्थिक वृद्धिले सुस्पष्ट गर्दछ । राजनीतिज्ञ, केन्द्रीय बैङ्क र वालस्ट्रिट (अमेरिकाको वित्त बजार) का प्रबन्धकहरु अन्ततः पुँजीवादी विकासको चक्रीय स्वरुपलाई आफूअनुकूल बनाइयो भन्ने कुरामा पूर्ण विश्वस्त थिए ।

तर, यसका लागि इतिहास सजिलै तयार थिएन । त्यसपछि इतिहासको पाङ्ग्रा १८० डिग्रीको फन्कोमा घुमेको छ । फुकुयामाको पुस्तक आएको केवल सोह्र वर्षपछि नै सन् २००८ मा उत्पन्न भएको सङ्कटले विश्व पुँजीवादको विशाल इमारत (महल) लाई पतनको विन्दुमा ल्याइपुर्‍याइदियो । विश्वलाई सन् १९३० पछिको सबैभन्दा गहिरो सङ्कटमा धकेल्दै यसले अझै आफूलाई रसातलबाट निकाल्नका लागि सङ्घर्ष गरिरहेको छ ।

फुकुयामाका प्रत्येक विश्वस्त पूर्वानुमानहरु विकसित घटनाद्वारा गलत साबित भए । सन् २००८ को सङ्कटभन्दा पहिले बुर्जुवा अर्थशास्त्रीहरु त्यो चक्रको उन्मूलन भइसकेका कारण अब कुनै पनि उच्चतम वृद्धि र गिरावट आउँदैन भनेर घमण्ड गरिरहेका थिए । उनीहरुले ‘कुशल बजार परिकल्पना’ भन्ने नयाँ आकर्षक सिद्धान्त पनि निर्माण गरेका थिए । त्यो सिद्धान्तअनुसार आफूबाहेक बजारले सबै चिजको समाधान गर्नेछ । वास्तवमा यसमा त्यस्तो कुनै नयाँ विचार थिएन । त्यो फगत जेबी से (Jean Baptiste Say) को नियममा भएको पुरानो विचारको पुनरावृत्ति मात्र हो । यसले बजार अर्थतन्त्रमा माग र आपूर्तिले एकअर्कालाई सन्तुलनमा राख्दछन् भन्छ । तसर्थ अति उत्पादनको सङ्कटलाई असम्भव चित्रण गर्दछ । मार्क्सले त्यो बकवासलाई एक शताब्दी अगाडि नै धुजा धुजा पारेर भत्काइसकेका थिए ।

यो अझ बढी स्पष्ट हुँदै आइरहेको छ कि पुँजीवादले आफ्नो प्रगतिशील सम्भावनालाई क्लान्त बनाएको छ । उद्योग, विज्ञान र प्रविधिलाई विकास गर्नुको सट्टा उसले निरन्तर रुपमा कमजोर बनाइराखेको छ । हामी आर्थिक सुधारको सङ्घारमा छौँ भनेर दिइने नियमित आश्वासनहरु अब कसैले पत्याउँदैन । उत्पादक शक्तिहरु स्थिर वा गिर्दो अवस्थामा छन्, सलाईको बट्टाजस्तै कारखाना बन्द हुँदै छन् र दशौँ लाख श्रमिकहरु कामबाट निकालिएका छन् ।

यी सबै लक्ष्यणहरुले के देखाउँछन् भने विश्वस्तरमा उत्पादक शक्तिहरुको विकास निजी सम्पत्ति र राष्ट्र राज्यको साँघुरो दायराभन्दा अगाडि बढिसक्यो । त्यो नै अहिलेको सङ्कटको आधारभूत कारण हो । त्यसलाई ठ्याक्कै शाब्दिक अर्थमा पुँजीवादको टाटपल्टाइले देखाइदिएको छ । सङ्कटका लक्षणहरु आर्थिक, सामाजिक र राजनीतिक रुपमा जहाँतहीँ आफसेआफ देखिइरहेका छन् । विशाल चिनियाँ अर्थतन्त्र, जसले विश्व व्यापारलाई बढावा दिनका लागि महङ्खवपूर्ण भूमिका निर्वाह गरेको छ, त्यो तीव्र गतिमा ह्रासतर्फ गइरहेको छ । जब कि जापान स्थिर छ । सबै तथाकथित उदाउँदा अर्थतन्त्रहरु कुनै न कुनै हदसम्म सङ्कटमा छन् । संयुक्त राज्य अमेरिका राजनीतिक तथा सामाजिक सङ्कटबाट गुज्रिइरहको छ, जसको आधुनिक समयमा अर्को कुनै नजिर छैन ।

आन्ध्र महासागरको अर्को भागमा युरापेली पुँजीवाद गम्भीर सङ्कटमा छ । ग्रिसको कष्टले युरोपेली पुँजीवादको रोगी अवस्थाको सुस्पष्ट चित्र उतारेको छ । तर, पोर्चुगल र स्पेन पनि राम्रो अवस्थामा छैनन् । फ्रान्स र इटाली पनि तीभन्दा त्यति पछाडि छैनन् । युरोपेली सङ्घबाट बाहिरिने निर्णयपश्चात् बेलायत, जसलाई युरोपका सबैभन्दा स्थिर देशहरुमध्ये एक मानिन्थ्यो, आर्थिक सङ्कट, घट्दो पाउन्ड र चिरकालिक राजनीतिक अस्थिरताले उसलाई पनि गिर्दो चक्रमा पुर्‍याइदिएको छ ।

बुर्जवा अर्थशास्त्री तथा राजनीतिज्ञका साथै सबैभन्दा माथिका सबै संशोधनवादीहरु यस सङ्कटबाट बाहिर निस्कनका लागि व्यग्रताका साथ पुनरmत्थानका सङ्केतहरुको खोजी गरिरहेका छन् । उनीहरु व्यापार चक्रको पुनर्बहालीलाई मुक्तिको रुपमा हेर्दछन् । मजदुर वर्ग र ट्रेड युनियनका नेता एवम् सामाजिक प्रजातन्त्रवादी नेताहरु यो सङ्कट अस्थायी हो भन्ने कुरामा विश्वास गर्दछन् । वर्तमान व्यवस्थामा केन्द्रको सुधार गरेर यसलाई समाधान गर्न सकिन्छ भन्ने उनीहरुको परिकल्पना छ ।

तर, यो कुनै साधारण सङ्कट होइन र अस्थायी पनि होइन । यसले सम्पूर्ण प्रक्रियामा आधारभूत मोड आएको स्पष्ट सङ्केत गर्दछ । त्यो विन्दु, जहाँ पुँजीवाद ऐतिहासिक अन्तिम घडीमा आइपुगेको छ, यस अवस्थामा गर्न सकिने उत्कृष्ट अपेक्षा भनेको उच्च बेरोजगारी, लामो समयसम्मको मितव्ययिताको नीति, कटौती र गिर्दो जीवनस्तरसहितको कमजोर सुधार मात्र हो ।

बुर्जवा विचारधाराको सङ्कट

मार्क्सवाद सुरूमा एउटा दर्शन हो । त्यसपछि एउटा सुसङ्गत विश्व दृष्टिकोण हो । मार्क्स–एङ्गेल्सका दार्शनिक रचनाहरुमा हामी बन्द दार्शनिक व्यवस्थाभन्दा पनि भव्य अन्तर्दृष्टि र सूचकहरुको शृङ्खला भेट्दछौँ । यदि विज्ञानको पद्धतिगत शस्त्रशालामा तिनको विकास गरिएको भए त्यसले महङ्खवपूर्ण योगदान पुर्‍याउन सक्थ्यो । बुर्जवा विचारधाराको सङ्कट स्पष्टतः दर्शनको क्षेत्रमा भन्दा अन्यत्र कतै देखिँदैन । यसको सुरmवाती अवस्थामा, जब बुर्जवाहरु विकासको पक्षमा थिए, यो विचारधारा हब्स र लक, कान्ट र हेगेलजस्ता महान् विचारकहरु जन्माउन सफल भयो । तर, आफ्नो बुढ्यौली क्षीणताको समयमा बुर्जुवा विचारधारा ठूला विचार र विचारकहरु जन्माउन असक्षम छ । वास्तवमा यसले कुनै नयाँ विचार जन्माउने ल्याकत नै राख्दैन ।

आधुनिक बुर्जवा वर्ग आफूले निर्भीक रुपमा सामान्यीकरण गर्न नसक्ने भएका कारण विचारधाराको वास्तविक अवधारणालाई अस्वीकार गर्दछ । यसकारण नै उत्तर–आधुनिकतावादीहरु विचारधाराको अन्त्यको कुरा गर्दछन् । उनीहरु प्रगतिको अवधारणालाई नै अस्वीकार गर्दछन् । किनकि, पुँजीवादमा यहाँभन्दा थप प्रगति सम्भव नै छैन । एङ्गेल्सले एक ठाउँमा लेखेका छन्, “दर्शन र वास्तविक विश्वको अध्ययनको बीचमा ठ्याक्कै त्यस्तै सम्बन्ध हुन्छ, जस्तो हस्तमैथुन र मैथुनिक प्रेमको बीचमा हुन्छ ।” आधुनिक बुर्जवा दर्शन पछिल्लोभन्दा अघिल्लोलाई रmचाउँदछ । मार्क्सवादसँग लड्ने सनकमा यसले दर्शनलाई आफ्नो खराब समय, पुरानो, जीर्ण र बन्जर विगततर्फ धकेलिदिएको छ ।

द्वन्द्वात्मक भौतिकवाद प्रकृति, समाज र विचारका कार्यहरुबारेको बुझाइको गतिशील दृष्टि हो । उन्नाइसौँ शताब्दीको पुरानो ढङ्गको विचारभन्दा धेरै पर असाधारण रुपमा यो प्रकृति र समाजको आधुनिक विचार हो । वस्तुलाई स्थिर, जड र जीवनरहित तरिकाबाट हेर्ने काममा द्वन्द्ववाद टाढै रहन्छ, जुन शास्त्रीय भौतिकवादको पुरानो यान्त्रिक विचारधाराको विशेषता थियो । यसले के देखाउँछ भने निश्चित परिस्थितिमा वस्तुहरु आफ्नो विपरीतका वस्तुमा बदलिन सक्छन् ।

द्वन्द्वात्मक विचार अर्थात् साना परिवर्तनहरुको क्रमिक सञ्चय एउटा महङ्खवपूर्ण विन्दुमा विशाल छलाङमा परिवर्तन हुन्छ भन्ने द्वन्द्वात्मक विचारलाई आधुनिक अस्तव्यस्तता वा विशृङ्खलताको सिद्धान्त (Chaos Theory) र यसका व्युत्पादनहरुले आश्चर्यजनक रुपमा पुष्टि गरेका छन् । विशृङ्खलताको यो सिद्धान्तले लगभग सय वर्षदेखि विज्ञानमा हाबी रहेको यान्त्रिक लघुकृत नियतिवादलाई समाप्त पारिदियो । उन्नाइसौँ शताब्दीको मार्क्सवादी द्वन्द्ववाद अहिले विशृङ्खलताको सिद्धान्तले जसलाई गणितीय रुपमा व्यक्त गरेको छ, त्यसैको पूर्वानुमान थियो । त्यो वस्तुहरुबीचको अन्तरसम्बन्ध विभिन्न तङ्खव (पक्ष) तथा प्रक्रियाहरुबीचको सम्बन्धको जैविक प्रकृति हो ।

‘फेज ट्रान्जिसन’ (तरल, ठोस र ग्यासको एकअर्को अवस्थामा हुने परिवर्तनहरु) को अध्ययनले समकालिक भौतिकशास्त्रको महङ्खवपूर्ण क्षेत्र ओगट्दछ । त्यहाँ यस्ता प्रकृतिका घटनाहरुको असङ्ख्य उदाहरण भेट्न सकिन्छ । परिमाणबाट गुणात्मकतामा हुने परिवर्तन सर्वव्यापक नियम हो । आफ्नो पुस्तक ‘सर्वव्यापकता (ग्दष्त्रगष्तथ)’ मा उत्तर अमेरिकी वैज्ञानिक मार्क बुचाननले यसलाई हृदयघात, हिमपहिरो, डढेलो, जनावरहरुको सङ्ख्यामा हुने घटबढ, सट्टा बजारको सङ्कट, युद्धका साथै फेसन र कलाको विचारधारामा हुने परिवर्तनजस्ता व्यापक घटनाहरुमा देखाएका छन् ।

अझै रमाइलो कुरा त के छ भने यी घटनाहरुलाई गणितीय रुपमा समेत देखाउन सकिन्छ, जसलाई शक्तिको नियम भनिन्छ । यस्ता महङ्खवपूर्ण आविष्कारहरुको परिकल्पना मार्क्स–एङ्गेल्सले धेरै पहिला नै गरेका थिए । जसले हेगेलको द्वन्द्ववादलाई तर्कपूर्ण रुपमा (भौतिकवादी अर्थमा) स्थापित गरेका थिए । आफ्नो पुस्तक तर्कशास्त्रमा हेगेल लेख्दछन्, “सामान्य कारणबाट ठूला प्रभावहरु पर्नु भनेको इतिहासमा सामान्य मजाक भएको छ ।” यो ‘बटरफ्लाई इफेक्ट’ अर्थात् जटिल प्रणालीमा सानो परिवर्तनले पार्न सक्ने ठूलो प्रभावको बारेमा सुनिनुभन्दा धेरै पहिलेको कुरा हो । ज्वालामुखी विष्फोट हुनु र भूकम्प जानुजस्तै क्रान्तिहरु पनि लामो समयसम्म अन्तर्विरोधहरु बिस्तारै जम्मा हुँदै र विकसित हुँदै जाँदाका उपज हुन् । अन्ततः यो प्रक्रिया निश्चित महङ्खवपूर्ण विन्दुमा पुग्छ र आकस्मिक छलाङमा अभिव्यक्त हुन्छ ।

ऐतिहासिक भौतिकवाद

प्रत्येक सामाजिक व्यवस्थाले के विश्वास गर्दछ भने ऊ मानवजातिका लागि अस्तित्वको एक मात्र सम्भावित अन्तिम प्रतिनिधि हो । अर्थात् यसका संस्था, यसको धर्म, यसको नैतिकता नै बोल्न सकिने अन्तिम शब्दहरु हुन् । नरभक्षीहरु, इजिप्टका पुजारी, मेरी आन्तोइनो र जार निकोलास सबैले उत्सुकताका साथ जे विश्वास गरेका थिए, त्यो यही हो । फ्रान्सिस फुकुयामाले हामीलाई विश्वस्त बनाउनका लागि देखाउन खोजेको कुरा पनि यही नै हो ।

चार्ल्स डार्विनले प्रजातिहरु अपरिवर्तनीय हुँदैनन्‌; तिनीहरुको विगत, वर्तमान र भविष्य हुन्छ; परिवर्तन र विकास पनि भइरहन्छ भनेजस्तै मार्क्स–एङ्गेल्स के व्याख्या गर्दछन् भने कुनै एउटा निश्चित सामाजिक व्यवस्था शाश्वत रुपमा स्थायी हुने चिज होइन । समाज र प्रकृतिबीचको समरुपता अवश्य पनि मिल्दोजुल्दो हुन्छ । तर, इतिहासको सबैभन्दा सतही परीक्षणले पनि के देखाउँछ भने क्रमिकतावादी व्याख्या आधारहीन छ । प्रकृतिले जस्तै समाजले पनि लामो अन्तरालमा सुस्त र क्रमिक परिवर्तनलाई पहिचान गर्दछ । तर, त्यहाँ पनि यो गति विष्फोटक (विकास, युद्ध र क्रान्तिहरु) हुन्छ, जसमा परिवर्तनको प्रक्रिया अत्यधिक रुपमा तीव्र गतिको हुन्छ । वास्तवमा यी त्यस्ता घटना (युद्ध र क्रान्ति) हरु हुन्, जसले ऐतिहासिक विकासको मुख्य चालक शक्तिको रुपमा काम गर्दछन् ।

क्रान्तिकारी परिवर्तनको मूल कारण एउटा खास तथ्यपरक अर्थमा सामाजिक व्यवस्था आफ्नो चरम सीमामा पुगिसकेको छ र पहिलेजस्तै उत्पादक शक्तिहरुको विकास गर्न असक्षम छ भन्ने नै हो । मार्क्सवादले सुरmवाती कबिला समाजदेखि आधुनिक समयसम्मको मानव समाजको विकासको पछाडि लुकेका मुख्य आधारहरुको विश्लेषण गरेको छ ।

इतिहासको भौतिकवादी अवधारणाले इतिहास असम्बन्धित र पहिले कहिल्यै थाहा नभएका घटनाहरुको एउटा शृङ्खलाको रुपमा नभई स्पष्ट रुपमा बुझिएको र अन्तरसम्बन्धित प्रक्रियाको अङ्गको रुपमा बुझ्न हामीलाई सक्षम बनाउँछ । यो क्रिया र प्रतिक्रियाहरुको शृङ्खला हो । यसले राजनीति, अर्थशास्त्र र सामाजिक विकासको पूर्ण वर्णपटलाई समेट्दछ ।

यी परिघटनाहरुबीचको सम्बन्ध जटिल द्वन्द्वात्मक सम्बन्ध हो । प्रायः मार्क्सवादलाई ऐतिहासिक विश्लेषणको एउटा पद्धतिको रुपमा व्यङ्ग्यात्मक नक्कलमा सीमित गरी बदनाम गराउने प्रयत्न गरिन्छ । सामान्य तोडमरोड भनेको त मार्क्स–एङ्गेल्सले सम्पूर्ण चिजलाई अर्थशास्त्रमा सीमित गरे भन्ने मात्र हो । यस्तो छाप लागेको बेतुकपनालाई मार्क्स–एङ्गेल्स आफैले धेरै पटक उत्तर दिइसकेका छन् । एङ्गेल्सले ब्लोचलाई लेखेको पत्रको अंश छ, “इतिहासको द्वन्द्ववादी अवधारणाका अनुसार इतिहासमा अन्तिम निर्धारक तङ्खव भनेको जीवनको उत्पादन र पुनरmत्पादन नै हो । योभन्दा धेरै न त मार्क्सले न त मैले नै पुष्टि गरेका छौँ । तसर्थ यदि कसैले यसलाई आर्थिक तङ्खव नै एक मात्र निर्धारक हो भनेर बङ्ग्याउँछ भने उसले उक्त विचारलाई अर्थहीन, अमूर्त र चेतनाहीन वाक्यांशको रुपमा बदल्यो भन्ने बुझ्नुपर्छ ।”

कम्युनिष्ट घोषणापत्र

आजको समयमा जोसुकैले पढ्न सक्ने सबैभन्दा आधुनिक र उन्नत पुस्तक कम्युनिष्ट घोषणापत्र हो । जुन सन् १८४८ मा लेखिएको थियो । यो सत्य हो कि यसमा समाविष्ट कतिपय विवरणहरु परिवर्तन हुन सक्छन् । तर, आधारभूत रुपमा कम्युनिष्ट घोषणापत्रका विचारहरु आज पनि उत्तिकै सान्दर्भिक, ज्वलन्त र तथ्यपूर्ण छन्, जति ती पहिलो पटक लेखिँदा थिए । तुलनात्मक रुपमा १५० वर्षभन्दा अगाडि लेखिएका बहुसङ्ख्यक किताब कमै मात्रामा ऐतिहासिक रुपले रmचिकर हुन्छन् ।

यसको दाँजोमा हेर्ने हो भने हाम्रा आधुनिक ‘विज्ञहरु’, जसले हिजो मात्रै आफूले के लेखेको थिएँ भनेर आज आफैले पढे भने लज्जित हुने स्थिति पनि आउन सक्छ । घोषणापत्रको बारेमा सबैभन्दा बढी प्रभाव पार्ने कुरा के हो भने यसले जसरी अत्यन्तै आधारभूत परिघटनाहरुको पूर्वानुमान गरेको छ, त्यसले वर्तमान समयमा पनि विश्वस्तरमा हाम्रो ध्यानाकर्षण गरेको छ । एउटा उदाहरण लिऊँ, जुन समयमा मार्क्स–एङ्गेल्स घोषणापत्रको पाण्डुलिपि तयार गरिरहेका थिए, त्यस बेला ठूला आजका बहुराष्ट्रिय कम्पनीहरुको विश्व भनेको केवल दूर भविष्यको सङ्गीतजस्तै थियो । यसका बाबजुद उनीहरुले स्वतन्त्र उद्यम र प्रतिस्पर्धाले निश्चित रुपमा पुँजीको केन्द्रीकरण र उत्पादक शक्तिको एकाधिपत्यमा पुर्‍याउँछ भन्ने कुराको व्याख्या गरेका छन् ।

बजारका रक्षकहरुले मार्क्सको यस प्रश्नमा आरोपित गल्तीको सवालमा दिएका वक्तव्यहरु बढ्दा स्पष्टतः हास्यास्पद लाग्छन् । जब कि यो तथ्यगत रुपमा उत्कृष्ट र सही अनुमानहरुमध्येको एक थियो । आज यो अकाट्य तथ्यको रुपमा स्थापित भइसकेको छ कि मार्क्सले पहिले नै पहिचान गरको पुँजीको केन्द्रीकरणको प्रक्रिया सम्पन्न भइसकेको छ, भइरहेको छ र वास्तवमा पछिल्ला केही दशकको दौरानमा पहिला कहिल्यै नपुगेको तहमा पुगिसकेको छ ।

दशकौँसम्म बुर्जवा समाजशास्त्रीहरुले यी दाबीलाई खण्डन गर्दै समाज अझै समान बन्दै छ र परिणामस्वरुप वर्गसङ्घर्ष हाते तान र काठको हलोजस्तै प्रचलनबाट हराउँदै छ भन्ने कुरा प्रमाणित गर्न निरन्तर प्रयत्न गरिरहे । उनीहरु मजदुर वर्ग हराइसक्यो र हामी सबै मध्यम वर्ग हौँ भन्दछन् । पुँजीको केन्द्रीकरणको सवालमा भविष्य साना व्यवसायमा छ र सानो चिज सुन्दर हुन्छ भन्ने दाबी गर्दछन् ।

आज यी दाबीहरु कति धेरै व्यङ्ग्यपूर्ण देखिन्छन् भने ! पूरै विश्वको अर्थतन्त्रमा दबदबा कायम गर्ने ठूला कम्पनीहरु दुई सय भन्दा धेरै छैनन् र त्यसकोे पनि बहुसङ्ख्या अमेरिकामै आधारित छ ।

जम्मा १४७ संस्थानहरुले विश्वको ४० प्रतिशत सम्पत्तिमाथि स्वामित्व राख्दछन् । यी विशाल संस्थान नै विश्व अर्थतन्त्रका वास्तविक शासक हुन् । जस्तैः वालमार्ट, एप्पल र सेलले संयुक्त रुपमा विश्वका अधिकांश देशहरुले भन्दा बढी पैसा कमाउँछन् । विश्वका १० ठूला संस्थानहरुको मूल्य २८५ ट्रिलियन डलर थियो । जुन पिँधका आयरल्यान्ड, इन्डोनेसिया, इजरायल, कोलम्बिया, ग्रिस, दक्षिण अफ्रिका, इराक, भियतनामलगायतका देशहरुको सम्पत्तिभन्दा पनि धेरैले बढी हो ।

लेनिनले विकासको साम्राज्यवादी अवस्थामा आर्थिक शक्ति ठूला बैङ्कहरुको हातमा केन्द्रित हुन्छ भनेर इङ्गित गरेका थिए । त्यो विश्लेषणलाई वर्तमान अवस्थाले पूर्ण रुपमा पुष्टि गरिसकेको छ । विश्व अर्थतन्त्रलाई वित्तीय पुँजीले आफ्नो प्रभुत्वमा राखेको छ । पुँजीको केन्द्रीकरणका साथसाथै स्थिर रुपमा असमानता पनि बढिरहेको हुन्छ । सबै देशमा राष्ट्रिय आयमा नाफाको अंश किर्तिमानी उच्च विन्दुमा हुन्छ भने ज्यालाको अंश चाहिँ किर्तिमानी तल्लो विन्दुमा हुन्छ । विश्वव्यापी असमानता बढिराखेको छ । विश्वको आधाभन्दा बढी सम्पत्ति एक प्रतिशत जनसङ्ख्याको हातमा छ ।

मितव्ययिताको आवश्यकता छ भनेर प्रवचन दिँदै गर्दा बैङ्कर र पुँजीपतिहरुले अविछिन्न रुपमा आफूलाई झन्‌झन् धनी बनाउँदै लगिरहेका छन् । अमेरिकामा श्रमिकहरुले १० वर्ष पहिलेको तुलनामा एक तिहाइभन्दा बढी उत्पादन गरिराखेका छन् । तर, वास्तविक अङ्कमा ज्याला भने कि स्थिर छ कि त घटेको छ । नाफामा उच्च वृद्धि भइराखेकै छ र धनीहरु श्रमिक वर्गको मूल्यलाई कुल्चिएर अझै धनी बनिराखेका छन् ।

भूमण्डलीकरण

एउटा अर्को चाखलाग्दो उदाहरण भूमण्डलीकरणलाई नै लिऊँ, विश्व बजारको दबाबपूर्ण वर्चस्व अहिलेको हाम्रो समाजको अति महङ्खवपूर्ण अभिव्यक्ति हो । यो हालसालैको अन्वेषण हो भन्ने ठानिन्छ । वास्तवमा भूमण्डलीकरणलाई मार्क्स–एङ्गेल्सले १५० वर्षभन्दा अगाडि नै पूर्वानुमान र व्याख्या गरिसकेका थिए । महङ्खवपूर्ण दस्तावेजहरुकोे प्रस्तावनामा भूमण्डलीकरणसम्बन्धी व्याख्या पाइन्छ । आजको समयमा यो विश्लेषण प्रभावकारी रुपमा पुष्टि भएको छ । तथापि जब कम्युनिष्ट घोषणापत्र लेखिएको थियो, त्यति बेला यो परिकल्पनालाई पुष्टि गर्ने कुनै अनुभवसिद्ध तथ्याङ्क थिएन । एक मात्र पूर्ण विकसित पुँजीवादी अर्थतन्त्र बेलायत थियो । फ्रान्स र जर्मनीका शिशु उद्योगहरु उच्च शुल्कको पर्खालको पछाडपट्टि आश्रय लिइरहेका थिए । तथाकथित भूमण्डलीकरण राष्ट्रिय बजारको साँघुरो सीमाभन्दा पछाडि जाने, श्रमको अन्तर्राष्ट्रिय विभाजनलाई विकास गर्ने र गतिशील बनाउने पुँजीवादको अनिवार्य प्रवृत्तिको अभिव्यक्ति हो ।

उत्पादनको उचित योजनाका लागि हाम्रो विश्वको विशाल स्रोतलाई उत्पादनको उचित योजनामार्फत सुसङ्गत बनाउनु अति आवश्यक छ । पुँजीवाद एउटा यस्तो अराजक व्यवस्था हो, जुन केही व्यक्तिको सम्पत्ति र शक्ति आर्जन गर्ने महङ्खवाकाङ्क्षाका लागि शोषण र पृथ्वीको दोहन गर्न नयाँ नयाँ बाटोको निरन्तर खोजी र लोभमा आधारित हुन्छ । ठूला कम्पनीहरुले वातावरण (पर्यावरण) प्रति लापर्बाहीपूर्ण उदासीनता देखाएका छन् । नाफाका लागि तिनीहरुको उच्छृङ्खल खोजले ‘रेन फरेस्ट’ (भूमध्यरेखा वरिपरिको सदावहार जङ्गल) को विनाश गर्‍यो, समुद्रलाई विषाक्त बनायो, बिरmवा र जनावरका असङ्ख्य प्रजातिहरुलाई पूर्ण नष्ट गर्‍यो । त्यो खोजले हामीले फेर्ने श्वास, पिउने पानी र खाने अन्नलाई प्रदुषित बनाएको छ ।

मानवजातिको विकासका दुई बाधक तङ्खवहरु छन् । तीमध्ये एउटा उत्पादनका साधनहरुको व्यक्तिगत स्वामित्व हो भने अर्को बर्बर युगमा स्थापित काम नलाग्ने अवशेष अर्थात् राज्य हो । सिङ्गो मानव सभ्यताको प्रगतिका लागि यी बाधकहरुलाई तत्काल भत्काउनु सर्वहारा वर्गको ऐतिहासिक कार्यभार हो ।

वर्गसङ्घर्ष

ऐतिहासिक भौतिकवादले हामीलाई के सिकाउँछ भने वस्तुगत अवस्थाले चेतनाको निर्धारण गर्दछ । आदर्शवादीहरुले सधैंभरि चेतनालाई सबै मानवजातिको प्रगतिको चालक शक्तिको रुपमा देखाइरहे । तर, इतिहासको सबैभन्दा सतही अध्ययनले पनि के देखाएको छ भने मानव चेतना सधैंभरि घटनाहरुको पछाडि रहन प्रवृत्त हुन्छ । क्रान्तिकारी हुनुभन्दा धेरै टाढा यो स्वाभाविक र पूर्ण रुपमा अनुदारवादी कुरा हो ।

निर्णायक विश्लेषणमा मार्क्सवादले के व्याख्या गर्दछ भने सम्पूर्ण सामाजिक विकासमा महङ्खवपूर्ण कुरा भनेको उत्पादक शक्तिहरुको विकास हो । समाज अगाडि बढिरहेको छ भन्नुको अर्थ जबसम्म उद्योग, कृषि, विज्ञान र प्रविधि आदिको विकास गर्न सक्षम छ, जनताको ठूलो सङ्ख्याले यसलाई सम्भव देख्दछ । यस्तो अवस्थामा मानिसहरु सामान्यतया वर्तमान समाज, नैतिकता र नियमहरुमाथि प्रश्न गर्दैनन् । अर्कोतर्फ ती प्राकृतिक र अवश्यम्भावीजस्ता देखिन्छन्, सूर्य उदाउनु र डुब्नुजस्तै प्राकृतिक र अवश्यम्भावी ।

विगतको समयमा युरोपमा वर्गसङ्घर्ष इतिहासको कुराजस्तो देखिन्थ्यो । तर, अहिले सञ्चित भएका अन्तर्विरोधहरु सतहमा आइरहेका छन् र सबैतिर वर्गसङ्घर्षको विष्फोटका लागि मार्ग तय गर्दै छन् । अमेरिकालगायत सबैतिर तुफानी घटनाहरु तयार हुँदै छन् । विषम र आकस्मिक परिवर्तनहरु परिस्थितिमा अन्तर्निहित हुन्छन् ।

जब मार्क्स–एङ्गेल्सले घोषणापत्र लेखे, उनीहरु क्रमशः २९ र २७ वर्षका दुई युवा थिए । उनीहरु अन्धकार प्रतिक्रियावादी समयमा लेखिरहेका थिए । मजदुर वर्ग प्रस्ट रुपमा स्थिर थियो । घोषणापत्र ब्रसेल्समा लेखिएको थियो, जहाँबाट उनीहरुलाई राजनीतिक शरणार्थीको रुपमा भाग्न बाध्य पारिएको थियो । स्पेनमा सन् १९३० देखि १९३७ सम्मको समयावधिमा जस्तै हामी झड्केदार समयमा प्रवेश गर्दै छौँ । जुन केही समयसम्म रहिरहनेछ । त्यहाँ असफलता र पराजयहरु पनि हात पर्नेछन् । तर, यी अवस्थाहरुमा आम जनताले धेरै छिटो बुझ्नेछन् । अवश्य पनि हामीले यसलाई अतिरञ्जित बनाउनु हुँदैन कि हामी अहिले नै आमूल परिवर्तनगामी प्रक्रियाको निकै नजिकको सुरmवातमा छौँ ।

पुँजीवादमाथि प्रश्न गर्ने मानिसहरुको सङ्ख्या बढिरहेको छ । उनीहरु मार्क्सवादका विचारहरुप्रति खुल्ला हुँदै छन् । जुन आयाममा यसअघि कहिल्यै भएका थिएनन् । आउने समयमा क्रान्तिकारीहरुका स–साना समूहमा सीमित विचारहरुलाई दशौँ लाख समर्थकहरुले व्यग्रताका साथ पछ्याउनेछन् ।

त्यसकारण फुकुयामालाई हामीले यसरी उत्तर दिन सक्छौँ– इतिहासको अन्त्य भएको छैन । वास्तवमा यो मुस्किलले पुनः सुरm मात्र भएको छ । भविष्यका पुस्ताले हाम्रो वर्तमान सभ्यतालाई हेर्दा लगभग उस्तै व्यवहार देखाउनेछन्, जस्तो अहिले हामी यो पुँजीपति वर्गको नरभक्षताप्रति देखाइरहेका छौँ । उच्चस्तरको मानव विकास हासिल गर्नका लागि पूर्वसर्त नै पुँजीवादी अराजकताको अन्त्य हुनु हो । यसका साथै न्यायसङ्गत उत्पादनको प्रजातान्त्रिक योजनाको स्थापना हो । जसमा पुरmष–महिला आफ्नो जीवन र परिस्थितिलाई आफ्नै वशमा लिन सक्छन् । विज्ञान र प्रविधिको विशाल सम्भावनालाई प्रयोग गर्दै तिनलाई निजी स्वामित्व र राज्यको क्रूर तथा घटिया बन्धनबाट मुक्त गर्दै हाम्रो विश्वलाई दमन गर्ने र यसलाई विनाशको डर देखाउने सबै समस्याहरुलाई समाधान गर्न सम्भव हुनेछ । वास्तविक मानव इतिहास तब मात्र सुरू हुनेछ जब मानिसले पुँजीवादी दासत्वको अन्त्य गर्नेछन् र स्वतन्त्रताको भूमिमा पहिलो पाइला राख्नेछन् ।

(नेपालबाट प्रकाशन हुने त्रैमाशिक पत्रिका अनुशीलनको दोस्रो अङ्कमा प्रकाशित)